१००० दिने आमा पोषण कार्यक्रम प्रभावकारी बनाउन सबैको सहकार्य आवश्यक : उपाध्यक्ष सन्जु प्याकुरेल 
नुवाकोट, असार १२ — तादी गाउँपालिकामा सञ्चालन भइरहेको ‘१००० दिने आमा पोषण कार्यक्रम’ सम्बन्धी कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सन्जु प्याकुरेलको सक्रिय सहभागिता र नेतृत्वपूर्ण उपस्थितिले कार्यक्रमलाई विशेष बनाएको छ। मातृ तथा शिशु पोषण सुधार गर्ने उद्देश्यले आयोजित कार्यक्रममा उपाध्यक्ष प्याकुरेलले कार्यक्रमको समन्वय तथा प्रभावकारी कार्यान्वयनमा विशेष चासो देखाएकी थिइन्।
कार्यक्रमलाई सम्बोधन गर्दै तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङले १००० दिनको अवधि आमा र शिशुको जीवनका लागि अत्यन्त महत्वपूर्ण भएकाले यस अवधिमा पोषण, स्वास्थ्य सेवा र सचेतनामा विशेष ध्यान दिनुपर्ने बताए।
अध्यक्ष तामाङले भने, “स्वस्थ आमा र स्वस्थ शिशु नै समृद्ध समाजको आधार हुन्। १००० दिने आमा पोषण कार्यक्रमलाई प्रभावकारी बनाउन जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वयंसेविका तथा समुदाय सबैको सक्रिय सहकार्य आवश्यक छ। गाउँपालिकाले मातृ तथा शिशु स्वास्थ्य सुधारका कार्यक्रमलाई निरन्तर प्राथमिकता दिनेछ।”
कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले मातृ तथा शिशु पोषण सुधार, सन्तुलित आहार, नियमित स्वास्थ्य परीक्षण तथा पोषणसम्बन्धी जनचेतना अभिवृद्धिमा जोड दिएका थिए।








