चरम आर्थिक संकट र युवा बेरोजगारीका कारण युवायुवतीमा निराशा बढ्दो : अधिवक्ता रामेश्वर भण्डारी
काठमाडौं, असार २६ — अधिवक्ता रामेश्वर भण्डारीले देशमा बढ्दो आर्थिक संकट, उद्योग–व्यवसायमा आएको मन्दी तथा युवा बेरोजगारीका कारण युवायुवतीमा निराशा बढ्दै गएको बताएका छन्।
उनले रोजगारीको अभाव, महँगी, उत्पादनशील क्षेत्रको कमजोर अवस्था र अवसरको कमीका कारण ठूलो संख्यामा नेपाली युवाहरू विदेशिन बाध्य भएको उल्लेख गर्दै यसले देशको आर्थिक तथा सामाजिक विकासमा गम्भीर असर पारेको बताए।
भण्डारीले सरकारले युवालाई स्वदेशमै सम्मानजनक रोजगारी सिर्जना गर्ने, कृषि, उद्योग, पर्यटन तथा साना–मझौला उद्यमलाई प्रोत्साहन गर्ने, सीपमूलक शिक्षा र उद्यमशीलता विकासमा विशेष ध्यान दिनुपर्ने धारणा राखे।
उनका अनुसार आर्थिक विकास, सुशासन, उत्पादनमुखी अर्थतन्त्र र रोजगारी सिर्जनालाई प्राथमिकता नदिएसम्म युवामा बढिरहेको निराशा हटाउन कठिन हुनेछ। उनले राजनीतिक दलहरूलाई सत्ता केन्द्रित राजनीतिभन्दा जनताको जीवनस्तर सुधार र आर्थिक समृद्धितर्फ केन्द्रित हुन आग्रह गरे।
अधिवक्ता भण्डारीले युवाशक्ति नै राष्ट्र निर्माणको प्रमुख आधार भएकाले उनीहरूको क्षमता, ऊर्जा र सिर्जनशीलतालाई देशभित्रै उपयोग गर्न सक्ने वातावरण निर्माण गर्नु आजको आवश्यकता भएको बताए।








