समुन्द्रटारको ऐतिहासिक झोलुङ्गे पुल जोगाउन अधिवक्ता रामेश्वर भण्डारीको आग्रह, दुप्चेश्वर गाउँपालिकालाई तत्काल चासो लिन माग


काठमाडौं, असार २६ — अधिवक्ता रामेश्वर भण्डारीले नुवाकोटको समुन्द्रटार जोड्ने ऐतिहासिक झोलुङ्गे पुल हिरारत्न हाइड्रोपावर कम्पनीको लापरवाहीका कारण उच्च जोखिममा परेको भन्दै तत्काल सुरक्षित व्यवस्थापन गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
भण्डारीका अनुसार वर्षौंदेखि घाम, पानी, बाढी र पहिरोजस्ता प्राकृतिक विपत्तिको सामना गर्दै लाखौं नागरिकलाई सुरक्षित रूपमा वारपार गराउँदै आएको उक्त पुलको अस्तित्व नै संकटमा पर्ने अवस्था सिर्जना भएको छ। अहिले पनि सयौं सर्वसाधारणले दैनिक रूपमा यही पुल प्रयोग गरिरहेका छन्।
उनले पुलको मुख्य लठ्ठालाई नै छोएर माथिबाट ३३ हजार भोल्टको उच्च भोल्टेज प्रसारण लाइन तानिएको भन्दै यसले गम्भीर सुरक्षा जोखिम निम्त्याएको बताए। पावरहाउस सञ्चालनमा आएपछि जोखिम अझ बढ्न सक्ने भएकाले समयमै आवश्यक कदम चाल्नुपर्ने उनको भनाइ छ।
स्थानीय नागरिकहरूले पनि पुलमाथिबाट उच्च भोल्टेजको प्रसारण लाइन तानिनु अत्यन्तै चिन्ताजनक रहेको बताएका छन्। दैनिक आवतजावत गर्ने सर्वसाधारण, विद्यार्थी, ज्येष्ठ नागरिक तथा बिरामी बोकेर हिँड्ने मानिसहरू समेत यही पुलमा निर्भर रहेकाले कुनै अप्रिय घटना हुनुअघि नै सम्बन्धित निकायले सुरक्षित विकल्प अपनाउनुपर्ने उनीहरूको माग छ। ऐतिहासिक पुलको संरक्षणसँगै नागरिकको ज्यानको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उनीहरूले बताएका छन्।
अधिवक्ता भण्डारीले इतिहास मेटिने अवस्था सिर्जना गर्नु र सर्वसाधारणको ज्यान जोखिममा पर्ने गरी पूर्वाधार निर्माण गर्नु दुवै गलत भएको उल्लेख गर्दै पुलको संरचनालाई असर नपर्ने गरी प्रसारण लाइनलाई अन्य सुरक्षित मार्गबाट लैजानुपर्ने माग गरेका छन्।
यस विषयमा विशेषगरी दुप्चेश्वर गाउँपालिकाले गम्भीर चासो लिनुपर्ने आवश्यकता औँल्याउँदै उनले स्थानीय सरकार नागरिकको सुरक्षा, ऐतिहासिक सम्पदाको संरक्षण तथा विकास निर्माणका कामलाई सुरक्षित र जिम्मेवार ढंगले सञ्चालन गराउने प्रमुख निकाय भएकाले तत्काल स्थलगत अनुगमन, प्राविधिक मूल्याङ्कन र आवश्यक समन्वय गरी समस्याको समाधानतर्फ अग्रसर हुनुपर्ने बताएका छन्।
भण्डारीले सम्बन्धित सरकारी निकाय, दुप्चेश्वर गाउँपालिका, हिरारत्न हाइड्रोपावर कम्पनी तथा अन्य सरोकारवालाहरूबीच समन्वय गरी पुलबाट उच्च भोल्टेजको प्रसारण लाइन हटाई सुरक्षित वैकल्पिक मार्गबाट लैजाने व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन्। उनका अनुसार समुन्द्रटारको ऐतिहासिक झोलुङ्गे पुल केवल आवतजावतको माध्यम मात्र नभई स्थानीय इतिहास, पहिचान र जनजीवनसँग जोडिएको अमूल्य सम्पदा भएकाले यसको संरक्षणमा सबै पक्ष गम्भीर बन्न आवश्यक छ।

LEAVE A REPLY