किसानका समस्या सुन्न पञ्चकन्यामा जनप्रतिनिधि–कृषक संवाद
नुवाकोट । पञ्चकन्या गाउँपालिकामा किसानका समस्या, कृषि उत्पादन र बजारीकरणका विषयमा केन्द्रित ‘कृषकसँग जनप्रतिनिधि’ कार्यक्रम सम्पन्न भएको छ। कृषि विकास शाखाको आयोजनामा २०८३ साल बैशाख २२ गते कार्यक्रम सम्पन्न गरिएको हो।
गाउँपालिकाका अध्यक्ष तेज बहादुर तामाङको
अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष बिमला के.सी., कृषि विकास कार्यालय नुवाकोटका प्रमुख श्रीकृष्ण अधिकारी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम नुवाकोटका प्रमुख रविन्द्र पौडेल तथा वागबानी विकास केन्द्र नुवाकोटका प्रमुख रुकमनी अधिकारीको उपस्थिति रहेको थियो।
त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत हिराधन राई, विभिन्न वडाका वडा अध्यक्षहरु, कार्यपालिका तथा गाउँसभा सदस्यहरु, शाखा प्रमुखहरु, वडा तथा मातहत कार्यालयका कर्मचारीहरु, रुडेक नेपालका अध्यक्ष मिन कुमार केसी तथा प्रतिनिधिहरु, सहकारी संस्थाका प्रतिनिधिहरु र कृषकहरुको उल्लेखनीय सहभागिता रहेको थियो।
किसानका समस्या सुन्न पञ्चकन्यामा जनप्रतिनिधि–कृषक संवाद
पूर्वाधार धेरै, जनजीवन उस्तै: नुवाकोटको विकास मोडेलमाथि प्रश्न :अधिवक्ता रामेश्वर भण्डारी
-
नुवाकोट । जिल्लाभरि ठूला विद्यालय भवन, पक्की सडक, स्वास्थ्य चौकी, सरकारी संरचना तथा हाइड्रोपावर आयोजनाहरू निर्माण भए पनि स्थानीय नागरिकको जीवनस्तरमा अपेक्षित सुधार नदेखिएको भन्दै सरोकारवालाहरूले विकासको वर्तमान मोडेलमाथि गम्भीर प्रश्न उठाएका छन्।
अधिवक्ता रामेश्वर भण्डारीका अनुसार नुवाकोटमा विकास “देखिने संरचना” मा सीमित हुँदा वास्तविक परिवर्तन हुन नसकेको हो। उहाँ भन्नुहुन्छ, “विकास भनेको केवल भवन र सडक बनाउनु होइन, जनताको जीवनस्तर सुधार्नु हो। नुवाकोटमा संरचना बने पनि त्यसको प्रभावकारी उपयोग र सेवा गुणस्तरमा ध्यान नपुगेको देखिन्छ।”
जिल्लामा विद्यालय भवनहरू विस्तार भए पनि विद्यार्थी संख्या घट्दो छ भने स्वास्थ्य चौकीहरूमा पर्याप्त डाक्टर, औषधि र सेवा अभाव देखिन्छ। यसले पूर्वाधार निर्माण र सेवा प्रवाहबीचको असन्तुलन उजागर गरेको छ।
त्यस्तै, स्थानीय स्तरमा उद्योग, व्यवसाय र आधुनिक कृषि प्रणाली विकास हुन नसक्दा रोजगारीका अवसर सिर्जना हुन सकेका छैनन्। परिणामस्वरूप, अधिकांश युवा विदेश पलायन भएका छन्। “गाउँमा आम्दानीका स्रोत नहुँदा पूर्वाधार मात्रै भएर जीवनस्तर उकासिँदैन,” भण्डारीले बताउनुभयो।
कृषि क्षेत्रमा पनि किसानले उत्पादनको उचित मूल्य, बजार पहुँच, भण्डारण र प्रशोधन सुविधा नपाउँदा निराशा बढ्दो छ। यसले ग्रामीण अर्थतन्त्रलाई कमजोर बनाएको छ।
मानव स्रोत व्यवस्थापन पनि अर्को चुनौती बनेको छ। शिक्षक, स्वास्थ्यकर्मी र प्राविधिक जनशक्ति गाउँमा टिक्न नसक्दा निर्माण भएका संरचनाहरू प्रभावकारी रूपमा सञ्चालन हुन सकेका छैनन्।
योजना निर्माण र कार्यान्वयनबीचको दूरी, अनुगमन र पारदर्शिताको कमीले विकासको प्रतिफल जनतासम्म पुग्न नसकेको सरोकारवालाहरूको भनाइ छ। त्यस्तै, जिल्लामा सञ्चालनमा रहेका हाइड्रोपावर आयोजनाबाट स्थानीयले अपेक्षित लाभ—रोजगारी, सस्तो विद्युत् वा आर्थिक अवसर—पाउन सकेका छैनन्।
अधिवक्ता भण्डारीले अबको आवश्यकता संरचना होइन, उत्पादन र सेवा केन्द्रित विकास भएको बताउँदै भन्नुभयो, “नुवाकोटमा वास्तविक परिवर्तन ल्याउन रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा–स्वास्थ्य, कृषि आधुनिकीकरण र सुशासनमा केन्द्रित नीति आवश्यक छ।”
स्थानीयहरू पनि अब “कागजी विकास” भन्दा व्यवहारिक र प्रत्यक्ष लाभ दिने योजनाको माग गर्न थालेका छन्।
चण्डेश्वरी मन्दिरमा धार्मिक गतिविधि सक्रिय, संरचना निर्माणमा विभिन्न निकायको सहयोग
चण्डेश्वरी मन्दिरमा धार्मिक गतिविधि सक्रिय, संरचना निर्माणमा विभिन्न निकायको सहयोग
नुवाकोट । विदुर नगरपालिका–७ स्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको चण्डेश्वरी मन्दिरमा विभिन्न धार्मिक तथा सामाजिक गतिविधिहरू निरन्तर सञ्चालन हुँदै आएका छन्। चण्डेश्वरी माध्यमिक विद्यालयको जन्मस्थलसमेत रहेको उक्त मन्दिर क्षेत्र धार्मिक आस्थाको केन्द्रका रूपमा परिचित छ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विजय बोगटीका अनुसार प्रदेश सरकारका पूर्वमन्त्री माननीय हिरानाथ खतिवडाको पहलमा मन्दिरका लागि १२ लाख रुपैयाँ बजेट विनियोजन भई दुई कोठे धर्मशाला भवन निर्माण सम्पन्न भइसकेको छ। त्यसैगरी, वि.सं. २०७५ सालमा विष्णु बहादुर बोगटीको नेतृत्वमा ७ लाख रुपैयाँ सहयोग जुटाएर मन्दिर परिसरको संरक्षण कार्य गरिएको थियो।
मन्दिरमा हरेक वर्ष हरिबोधनी एकादशीका अवसरमा फूलको डोली उत्तरगयाधाम देवघाटमा लैजाने परम्परा रहेको छ। यसैबीच, चण्डी पूर्णिमाका दिन चण्डेश्वरी मन्दिरमा चण्डी देवीको पूजा भक्तजनहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न भएको अध्यक्ष बोगटीले जानकारी दिनुभयो।
त्यसैगरी, प्रत्येक वर्ष तीज, शिवरात्रि र रामनवमीका अवसरमा पनि मन्दिरमा विशेष पूजा–आजा तथा धार्मिक कार्यक्रमहरू आयोजना हुँदै आएका छन्। स्थानीयवासी तथा भक्तजनहरूको सक्रिय सहभागिताले मन्दिर क्षेत्र धार्मिक तथा सांस्कृतिक केन्द्रका रूपमा थप सशक्त बन्दै गएको छ।
तादीमा तेस्रो सामुदायिक स्वास्थ्य इकाई निर्माण अन्तिम चरणमा
तादीमा तेस्रो सामुदायिक स्वास्थ्य इकाई निर्माण अन्तिम चरणमा
नुवाकोट । तादी गाउँपालिका–६ स्थित गैरी गाउँमा तेस्रो सामुदायिक स्वास्थ्य इकाई भवन निर्माण अन्तिम चरणमा पुगेको छ। नेपाल ग्रिनतारा फाउन्डेसनको आर्थिक तथा प्राविधिक सहयोग तथा गाउँपालिकाको समन्वयमा उक्त स्वास्थ्य इकाई निर्माण कार्य अघि बढाइएको हो।
यसअघि फाउन्डेसनले वडा नं. १ काल्चे र वडा नं. २ चिलाउनेमा पनि सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिसकेको छ। गैरी गाउँमा निर्माणाधीन भवन सम्पन्न भएसँगै तादी गाउँपालिकामा आधारभूत स्वास्थ्य सेवाको पहुँच थप विस्तार हुने अपेक्षा गरिएको छ।
गाउँपालिकाले स्वास्थ्य, शिक्षा, महिला तथा बालबालिका क्षेत्रलाई प्राथमिकतामा राख्दै उल्लेखनीय लगानी गर्दै आएको छ। यस क्रममा नेपाल ग्रिनतारा फाउन्डेसनले दीर्घकालीन रूपमा सहकार्य गर्दै विभिन्न क्षेत्रमा योगदान पुर्याउँदै आएको छ।
संघ संस्था समन्वय समितिका संयोजक तथा गाउँपालिका उपाध्यक्ष सञ्जु प्याकुरेल श्रेष्ठले दीर्घकालीन सोचका साथ काम गर्ने संस्थामध्ये नेपाल ग्रिनतारा फाउन्डेसन तादी गाउँपालिकामा अग्रणी संस्थाका रूपमा स्थापित भएको बताउनुभयो। स्थानीय सरकारको लक्ष्य प्राप्ति तथा समग्र विकासमा फाउन्डेसनको महत्वपूर्ण योगदान रहेको उहाँको भनाइ छ।
फाउन्डेसनका संस्थापक तासी तेन्जिङ शेर्पा र बन्दिनी शेर्पाले शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको जनाइएको छ। उपाध्यक्ष श्रेष्ठले महिलाहरूलाई पुरुषसरह सक्षम र प्रतिस्पर्धी बनाउन खेलकुद क्षेत्रलाई समेत प्राथमिकतामा राख्दै अघि बढिरहेको उल्लेख गर्नुभयो।
स्थानीय तह र संघसंस्थाबीचको प्रभावकारी सहकार्यले तादी गाउँपालिकाको विकास, समृद्धि र प्रगतिमा सकारात्मक योगदान पुर्याएको सरोकारवालाहरूले बताएका छन्।







