
सन् १९४५ मा दोस्रो विश्वयुद्धको अन्त्यपछि विश्व राजनीतिमा संयुक्त राज्य अमेरिका एउटा महाशक्तिका रूपमा उदायो । विगत ८२ वर्षदेखि विश्वका हरेक साना-ठूला राजनीतिक, आर्थिक र सैन्य गतिविधिमा अमेरिकाकै प्रत्यक्ष वा अप्रत्यक्ष हस्तक्षेप रहँदै आएको छ । युरोप, खाडी मुलुक र एसियाली क्षेत्रमा अमेरिकाको नीति नै अन्तिम निर्णय जस्तै बन्ने गरेको इतिहास पनि छ ।
समय सधैं एकनास रहँदैन। ऐतिहासिक रूपमा गत फागुन १६ गते (२०८२ साल) अमेरिकाले इरानमाथि गरेको सैन्य आक्रमण र हस्तक्षेपले विश्व राजनीतिमा एउटा ठूलो मोड ल्याइदिएको छ। यो घटनाले अमेरिकी प्रभुत्वको क्षय र नयाँ विश्व व्यवस्थाको सुरुवातलाई स्पष्ट रूपमा संकेत गरेको छ।
विगतमा एसिया र दक्षिण एसियाका भारत, नेपाल, बंगलादेश, श्रीलंका, तथा पूर्वी एसियाका जापान र दक्षिण कोरियाजस्ता देशहरूमा अमेरिकाको ‘बोली बिक्ने’ गर्दथ्यो । यी क्षेत्रका कतिपय शासक, नेता र प्रशासनिक संयन्त्रहरू अमेरिकी आर्थिक वा सैन्य शक्तिको दबाबका कारण त्रसित हुने र उसको आदेश वा रणनीतिक स्वार्थलाई शिरोधार्य गर्न बाध्य हुने स्थिति थियो। साना र विकासोन्मुख देशहरूको परराष्ट्र नीतिमा समेत अमेरिकी छाया प्रष्ट देखिन्थ्यो।
तर, हालैका दिनमा अमेरिका र उसको निकट सहयोगी इजरायलले प्रदर्शन गरेको उन्मत्त र आक्रामक गतिविधिले विश्व समुदायलाई सोच्न बाध्य बनाएको छ। इरानमाथिको पछिल्लो हस्तक्षेपले अमेरिकी शक्तिको सीमा र उसको ‘अन्यायपूर्ण’ अनुहारलाई संसारसामु छर्लङ्ग पारिदिएको छ। परिणामस्वरूप, हिजोसम्म अमेरिकाको आदेश पालना गर्ने देशहरू पनि अब आफ्नो राष्ट्रिय अस्तित्व र सार्वभौमिकता रक्षाका लागि अमेरिकी छाताबाट बाहिर निस्कन थालेका छन्। युरोप, खाडी र एसियाली मुलुकहरूबाट अमेरिकी सैन्य तथा राजनीतिक प्रभाव क्रमशः पछि हट्दै जानु यसैको उपज हो।
“कुनै पनि शक्तिको क्षय हुन्छ र हुनुपर्दछ” भन्ने प्राकृतिक र राजनीतिक मान्यता फेरि एकपटक प्रमाणित भएको छ। अमेरिका र इजरायलको गठबन्धनले सिर्जना गरेको विश्वव्यापी अशान्ति र युद्धको वातावरणका कारण संसारका अन्य मुलुकहरू आफ्नो अस्तित्व रक्षाका लागि एक ठाउँमा उभिन अनिवार्य भएको छ।
साम्राज्यवादी नीति र सैन्य दबाबको प्रतिकार गर्न अहिले खाडी मुलुक, एसिया र युरोपका कतिपय देशहरूबीच नयाँ रणनीतिक समीकरणहरू बन्न थालेका छन्। यो एकता अमेरिकी शक्तिको प्रतिवाद गर्न मात्र नभएर, विश्वमा न्यायपूर्ण र सन्तुलित व्यवस्था कायम गर्नका लागि पनि सुरु भएको हो। अब विश्व राजनीति कुनै एउटा केन्द्र वा महाशक्तिको इसारामा चल्ने अवस्थामा छैन; यो बहुध्रुवीयतातर्फ तीव्र गतिमा अघि बढिरहेको ।
इतिहास साक्षी छ, रोमन साम्राज्यदेखि बेलायती साम्राज्यसम्म, कुनै पनि शक्ति सधैंभरि अमर रहेनन्। अमेरिकाको वर्तमान नीति र व्यवहारले उसलाई क्षयको दिशातर्फ धकेलिरहेको छ।
यस परिप्रेक्ष्यमा, भोलि विश्वमञ्चमा उदय हुने कुनै पनि नयाँ प्रथम शक्ति वा महाशक्तिले यदि अमेरिकी शैलीकै एकाधिकारवादी र अहङ्कारी नीति अपनाएमा, उसको हतियार पनि समयक्रममा यसैगरी क्षय भएर जानेछ । शक्ति प्रदर्शन र दबाबभन्दा सहअस्तित्व र न्यायपूर्ण सम्बन्ध नै दीर्घकालीन हुनसक्छ भन्ने पाठ वर्तमान विश्व राजनीतिको यो नयाँ मोडले स्पष्ट रूपमा सिकाएको छ । इरानमाथिको हस्तक्षेप अमेरिकी प्रभुत्व अन्त्यको एउटा प्रस्थानविन्दु बनेको छ, जसले विश्वलाई नयाँ दिशा दिइरहेको छ ।
(लेखक बागमती प्रदेशसभा सदस्य हुन् )











