Page 2

नेपाल ग्रीनतारा फाउन्डेसनको सहयोगमा तादीमा स्वास्थ्य चौकी — उपाध्यक्ष सन्जु प्याकुरेल

0

तादी गाउँपालिका, नुवाकोट — नेपाल ग्रीनतारा फाउन्डेसनको सहयोगमा निर्माण गरिएको स्वास्थ्य चौकी भवन तादी गाउँपालिका–१, काल्चेमा एक विशेष समारोहका बीच उद्घाटन गरिएको छ। स्वास्थ्य सेवा जनताको घरआँगनसम्म पुर्याउने उद्देश्यका साथ गरिएको यो सहयोगले तादी गाउँपालिकामा स्वास्थ्य पूर्वाधार विकासको नयाँ अध्याय सुरु गरेको छ। कार्यक्रमको नेतृत्व तादी गाउँपालिकाकी उपाध्यक्ष सन्जु प्याकुरेलले गर्नुभएको थियो।

उद्घाटन समारोहमा प्रदेश सांसद राधिका तामाङ प्रमुख अतिथि हुनुहुन्थ्यो। विशिष्ट अतिथिका रूपमा ग्रीनतारा फाउन्डेसनका संस्थापक तथा विश्वप्रसिद्ध आरोही, मानवसेवक तासी तेन्जिङ शेर्पा र फाउन्डेसनकी अध्यक्ष समाजसेवी बन्दी निमा शेर्पाको उपस्थिति रहेको थियो। साथै गाउँपालिकाका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, वडा अध्यक्षज्यूहरू, सुरक्षातन्त्र, स्थानीय मिडिया तथा नागरिकहरूको सम्माननीय उपस्थिति थियो।उद्घाटन समारोहमा बोल्दै उपाध्यक्ष सन्जु प्याकुरेलले ग्रीनतारा फाउन्डेसनको योगदानप्रति आभार व्यक्त गर्दै भन्नुभयो,। स्वास्थ्य सेवा कुनै पनि नागरिकको आधारभूत अधिकार हो। हाम्रो गाउँमा वर्षौँदेखि स्वास्थ्य पूर्वाधारको अभाव थियो। नेपाल ग्रीनतारा फाउन्डेसनले निःस्वार्थ भावनाले गरेको यो सहयोग तादीका जनताका लागि ठूलो आशाको किरण बनेको छ।तादी गाउँपालिका स्वास्थ्य र शिक्षामा विशेष ध्यान दिँदै अघि बढिरहेको छ। यस यात्रामा साथ र सहयोग गर्ने ग्रीनतारा फाउन्डेसनप्रति हामी सदैव कृतज्ञ रहनेछौँ।फाउन्डेसनका संस्थापक तासी तेन्जिङ शेर्पाले समुदाय विकास र मानव सेवा नै आफ्नो मुनाफा भएको उल्लेख गर्दै भने,। हामी विकासको प्रदर्शन गर्दैनौं, परिवर्तन ल्याउन चाहन्छौँ। ग्रामीण भेगमा स्वास्थ्य र शिक्षा पुरयाउनु हाम्रो प्राथमिकता हो। फाउन्डेसनकी अध्यक्ष बन्दी निमा शेर्पाले तादी गाउँपालिकामा शिक्षा, स्वास्थ्य र बालविकास कार्यक्रमहरू निरन्तरता पाउने उल्लेख गर्दै भनिन्,“हामी सहयोग गर्दै मात्र रोकिन्नौँ, साथ दिँदै अघि बढ्छौँ। समुदाय परिवर्तन गर्न साझेदारी आवश्यक हुन्छ।”कार्यक्रममा वडाध्यक्ष, गाउँसभा सदस्य र स्थानीयबासीहरूले पनि बोल्नुभएको थियो। सबै वक्ताहरूले उपाध्यक्ष सन्जु प्याकुरेलको सक्रिय पहलमा ग्रीनतारा फाउन्डेसनसँग सहकार्य सम्भव भएको उल्लेख गरेका थिए।स्थानीय नागरिकहरूका अनुसार स्वास्थ्य चौकी भवन बन्नुअघि सामान्य उपचारका लागि पनि दुरदराजका अस्पताल धाउन बाध्य हुनु परिरहेको थियो। अब नियमित स्वास्थ्य सेवा नजिकै प्राप्त हुने भएपछि नागरिकहरू अत्यन्त खुसी छन्।समारोहको अन्त्यमा उपाध्यक्ष प्याकुरेलले ग्रीनतारा फाउन्डेसनका प्रतिनिधिहरूलाई आभार सम्मानपत्र प्रदान गर्दै तादी गाउँपालिकाको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्नुभयो। उहाँले तादी गाउँपालिकालाई स्वस्थ, शिक्षित र स्वावलम्बी समुदाय बनाउने लक्ष्य सहित निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रम सफल र ऐतिहासिक बन्नुमा उपस्थित सबै जनप्रतिनिधि, सुरक्षाकर्मी, सरोकारवाला र स्थानीय नागरिकलाई उनले धन्यवाद व्यक्त गर्नुभयो।

सचेत नागरिक अभियान नेपालको पहलमा मंगलदेवी माध्यमिक विद्यालयमा शैक्षिक तथा खेलकुद सामग्री वितरण

0

नुवाकोट, सुर्यगढी — सचेत नागरिक अभियान नेपालको विशेष पहलमा नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघद्वारा नुवाकोट जिल्ला सुर्यगढी गाउँपालिका–१, छापस्थित मंगलदेवी माध्यमिक विद्यालयका २५० जना विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ।

उक्त कार्यक्रम पूर्व विद्यार्थी तथा नेकपा केन्द्रिय प्रतिनिधि सदस्य जीवन तामाङ (सी) को संवाद एवं समन्वयमा सम्पन्न भएको हो।

कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश तामाङले गरेका थिए।मुख्य अतिथि तथा संघका केन्द्रीय अध्यक्ष बिजेन्द्र विक्रम शाहले संघले आफ्नो ३६औँ स्थापना दिवसको अवसरमा देशका विभिन्न जिल्लामा शैक्षिक सामग्री वितरण कार्यक्रम सञ्चालन गर्दै आएकोले मंगलदेवी विद्यालय पनि त्यही अभियानको हिस्सा भएको बताए।

विशेष अतिथि तथा नेकपा केन्द्रीय सदस्य एवं नुवाकोट जिल्ला इञ्चार्ज महेन्द्र तामाङ (सी) ले विद्यार्थीहरुलाई प्रेरणादायी भनाइ राख्दै भने,“यो कापी–कलमले तपाईंहरूको भविष्य मात्र होइन, राष्ट्रको भाग्य पनि लेखियोस्।”

निवर्तमान अध्यक्ष निमनाथ दाहालले संघले सामग्री मात्र नभई ज्ञानको प्रकाश पनि वितरण गरिरहेको उल्लेख गरे।अर्का अतिथि रघु पण्डितले अध्ययनले जीवनको दिशा बदल्ने बताउँदै विद्यार्थीहरूलाई लक्ष्य–केन्द्रित भएर अघि बढ्न आह्वान गरे। कार्यक्रमका विशेष अतिथि तथा पूर्व विद्यार्थी जीवन तामाङ (सी) ले आफूले अध्ययन गरेको विद्यालयलाई सहयोग गर्न पाउँदा खुशी व्यक्त गर्दै भने,“शिक्षकहरू मैनबत्ती जस्तै — आफू जलेर अरूलाई उज्यालो दिने। संघले हाम्रो अनुरोध स्वीकार गरी सहयोग गरेकोमा धन्यवाद।”विद्यालयका प्र.अ. दत्त प्रसाद न्यौपानेले उपलब्ध सामग्री सदुपयोग गरिने प्रतिबद्धता व्यक्त गर्दै निरन्तर सहयोगको अपेक्षा गरे।कार्यक्रमको समापनमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश तामाङले सबैलाई धन्यवाद दिएका थिए।

 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र एकीकृत समाजवादीसहित विभिन्न १० वामपन्थी पार्टीबीचको एकता

0

काठमाडौँ, १९ कात्तिक : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सङ्कट हल गर्न वामपन्थी र देशभक्त शक्तिबीच एकता भएको बताउनुभएको छ ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र एकीकृत समाजवादीसहित विभिन्न १० वामपन्थी पार्टीबीचको एकता राष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्दै उहाँले त्यस्तो सङ्कट हाल गर्न कम्युनिष्ट पार्टी एक भएर अभियान चलाउन लागिएको बताउनुभयो ।

“पार्टी एकताले नयाँ राष्ट्रिय एकताको आधार तयार गरेको छ”, उहाँले भन्नुभयो । विगतको कमजोरी सच्याउनुको विकल्प नभएको उल्लेख गर्दै संयोजक दाहालले पार्टी नेता र कार्यकर्ताको सुझावका आधारमा पार्टी सञ्चालन गरिने प्रतिबद्धता गर्नुभयो । कम्युनिष्ट आन्दोलनलाई ध्रुव्रीकृत गर्ने अभियान सञ्चालन गरिने उद्घोष गर्दै उहाँले राष्ट्र र लोकतन्त्रको रक्षार्थ कम्युनिस्ट, लोकतन्त्रवादी र राष्ट्रवादी शक्तिसँग हातेमालो गर्नुपर्ने बताउनुभयो ।

 

नुवाकोट विकास मोडेलको सम्भावना र दिशा : बौद्धिक व्यक्तित्वसँग विशेष छलफल

0

नुवाकोट— नुवाकोटको दीर्घकालीन विकास मोडेल निर्माणको उद्देश्यका साथ नुवाकोट निवासी बौद्धिक व्यक्तित्व तथा इमानदार राजनीतिक नेता केशव पुडासैनी (बिमल) ज्यूसँग एक महत्वपूर्ण विचार–विमर्श सम्पन्न गरिएको छ। नुवाकोटको समग्र विकास, सम्भावित क्षेत्र पहिचान र दीर्घकालीन रणनीतिमा केन्द्रित उक्त छलफल नुवाकोटकै अभियन्ता तथा सामाजिक रूपान्तरणमा सक्रिय व्यक्तित्वहरू राजन गौतम (नकुल), अधिवक्ता रामेश्वर भण्डारी र राजु राई सहितको उपस्थितिमा सम्पन्न भएको हो।

कार्यक्रममा सहभागीहरूले नुवाकोटको भौगोलिक, सांस्कृतिक र आर्थिक विशिष्टताका आधारमा बनाइने विकास मोडेल कस्तो हुन सक्दछ भन्ने विषयमा व्यापक रूपमा बहस गरे। नुवाकोट केवल ऐतिहासिक र सांस्कृतिक दृष्टिले मात्र महत्वपूर्ण नभई जलस्रोत, कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार विकासका सम्भावनाले भरिपूर्ण जिल्ला भएको निष्कर्ष प्रस्तुत गरियो।

छलफलका क्रममा  नुवाकोटको विकासका पाँच आधार स्तम्भ पहिचान गरिएको बताइयो—

क) कृषि व्यवसायिकरण र सहकारी मोडल,

ख) जलस्रोतको व्यवस्थित उपयोग,

३) पर्यटनको प्रवर्द्धन एवं सांस्कृतिक सम्पदाको संरक्षण,

४) शिक्षा, स्वास्थ्य र स्थानीय रोजगारी सिर्जना,

५) पूर्वाधार तथा सूचना प्रविधिको विस्तार।

 

केशव पुडासैनी (बिमल) ले नुवाकोटको विकासलाई राजनीतिक नारा होइन, व्यवहारिक योजनासँग जोडिनुपर्ने आवश्यकतामा जोड दिए। उनले भने, “विकासको मुख्य आधार स्थानीय स्रोतको पहिचान र स्थानीय तहबाटै शुरु हुने पहल हो। नुवाकोटलाई मोडेल जिल्ला बनाउन हामीसँग पर्याप्त स्रोत, क्षमता र जनशक्ति छ।” उनका अनुसार विकासका नीति तथा योजनाहरू कागजमा सीमित नभई व्यवहारमा कार्यान्वयन गर्न सकिने मोडेल आवश्यक छ।

अभियन्ता राजन गौतम (नकुल) ले विकासको आधार कृषि र पर्यटन हुनु पर्ने भन्दै नुवाकोटलाई जैविक कृषि, फलफूल उत्पादन, भैँसी तथा बाख्रापालन जस्ता व्यवसायमा आत्मनिर्भर बनाउन सकिने धारणा राखे। अधिवक्ता रामेश्वर भण्डारीले प्रभावकारी विकासका लागि जनतासँग सहकार्य र पारदर्शी प्रक्रिया अनिवार्य रहेको उल्लेख गर्दै योजनाहरू जनतामैत्री र सहभागितामूलक हुनुपर्ने बताए। त्यस्तै, राजु राईले युवा क्षमताको उपयोग, प्रविधिको प्रयोग र स्थानीय उद्यमशीलताका लागि तालिम तथा प्रोत्साहन आवश्यक रहेको बताए।

छलफलमा सहभागीहरूले नुवाकोटलाई ‘सम्पदा, पर्यटन, कृषि र ऊर्जा’ मा आधारित बहु–क्षेत्रीय विकास मोडेल लागू गर्न सके केही वर्षमै आर्थिक रूपमा परिवर्तन गर्न सकिने निष्कर्ष प्रस्तुत गरे। साथै, विकासको लागि दीर्घकालीन रणनीति तयार गरी नीति निर्माण तहमा यसलाई प्रस्तुत गर्ने योजना समेत तय गरिएको छ।

नेकपा माओवादी केन्द्र बागमती प्रदेशमा तादीका चार नेताको प्रवेश

0

नुवाकोट, तादी।
नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश समितिमा तादी गाउँपालिकाबाट चार जना नेताहरू मनोनित भएका छन्। पार्टीले हालै सम्पन्न प्रदेशस्तरीय पुनर्संरचना प्रक्रियामा जिल्लास्तरका सक्रिय तथा जिम्मेवार नेताहरूलाई प्रदेश समितिमा चयन गरेको हो। यस क्रममा जिल्ला समन्वय सदस्य तथा बागमती प्रदेश विभाग सदस्य का. पार्वती पण्डित, जिल्ला समन्वय सदस्य तथा तादी गाउँपालिका निवर्तमान अध्यक्ष तथा सह–इन्चार्ज का. अनुप कुमार पाण्डे, जिल्ला समन्वय सदस्य तथा तादी गाउँपालिका अध्यक्ष का. रोशन श्रेष्ठ, र अखिल क्रान्तिकारी महिला संघ बागमती प्रदेश सदस्य एवं तादी गाउँपालिका उपाध्यक्ष सञ्जु प्याकुरेल श्रेष्ठलाई बागमती प्रदेश समितिको सदस्यमा मनोनित गरिएको छ।

पार्टीका जिल्ला इन्चार्ज तथा समन्वय समितिका सदस्यहरूले चारै नेताको सक्रियता, संगठनप्रतिको समर्पण र स्थानीय तहमा माओवादी आन्दोलनलाई सुदृढ बनाउने भूमिकाको कदर गर्दै प्रदेश समितिमा सिफारिस गरिएको जनाएका छन्। माओवादी केन्द्रले पछिल्ला केही महिनादेखि “संगठन सुदृढीकरण तथा विस्तार अभियान” सञ्चालन गर्दै स्थानीयदेखि प्रदेश तहसम्मका संरचनाहरूलाई पुनर्गठन गर्दै आएको छ।

तादी गाउँपालिका माओवादी केन्द्रको दृष्टिले नुवाकोट जिल्लाको सक्रिय र प्रभावशाली क्षेत्रका रूपमा चिनिन्छ। विशेषतः स्थानीय सरकार सञ्चालन, जनजीविकासम्बन्धी अभियान, कृषि, शिक्षा र पूर्वाधार विकासमा तादीका माओवादी जनप्रतिनिधिहरूको उल्लेखनीय योगदान रहेको छ। हाल प्रदेश समितिमा पुगेका नेताहरूले यसअघि गाउँपालिका तहमा पार्टीको नीतिलाई जनस्तरमा पुर्‍याउने अभियान सञ्चालन गर्दै आएका थिए।

प्रदेश समितिमा चयन भएपछि चारै नेताहरूले आफूहरूलाई दिएको जिम्मेवारीलाई जनताको हितमा प्रयोग गर्ने प्रतिवद्धता जनाएका छन्। प्रदेश समितिका सदस्यका रूपमा उनीहरूले पार्टी नीतिअनुसार संगठन सुदृढीकरण, स्थानीय सरकारहरूसँग समन्वय, र जनजीविकामुखी कार्यक्रमहरू अगाडि बढाउने योजना बनाएको जानकारी दिएका छन्।

यस मनोनयनसँगै तादी गाउँपालिकाको माओवादी संगठन थप सबल र प्रभावशाली बनेको स्थानीय कार्यकर्ताहरूको भनाइ छ। बागमती प्रदेशमा माओवादी केन्द्रले आगामी निर्वाचन र आन्दोलनको तयारीलाई ध्यानमा राख्दै सक्षम र अनुभवी नेतृत्वलाई अगाडि ल्याउने रणनीति लिएको बताइन्छ।

चारै नेताहरूलाई बागमती प्रदेश समितिमा चयन गरिएको अवसरमा जिल्लाभरि रहेका माओवादी कार्यकर्ताहरूले शुभकामना व्यक्त गर्दै क्रान्तिकारी मार्गमा अझ सशक्त योगदान दिन प्रेरणा दिएका छन्।
कार्यकर्ताहरूले भने — “यो तादी गाउँपालिकाको मात्र होइन, सम्पूर्ण नुवाकोटका माओवादीहरूको गौरव हो।”

दशौं कंकेश्वरी अन्तरविद्यालय एकायन कराते प्रतियोगिता २०८२ सम्पन्न

0

नेपाल एकायन कराते संघ कंकेश्वरी शाखा प्रशिक्षण केन्द्र, कंकेश्वरीको आयोजनामा दशौैं कंकेश्वरी अन्तरविद्यालय एकायन कराते प्रतियोगिता २०८२, शान्ति निकुञ्ज माध्यमिक विद्यालय मरुहिटीको प्राङ्गणमा २०८२ कार्तिक १५ गते सम्पन्न भएको छ । उक्त कार्यक्रमको उद्घाटन काठमाडौं महानगरपालिका वडा नं २० का वडा अध्यक्ष श्री रोजेन्द्र मानन्धरज्यूले गर्नुभएको थियो । नेपाल एकायन कराते संघका संस्थापक अध्यक्ष श्रीकृष्ण डंगोलको सभापतित्वमा संचालित कार्यक्रममा शान्ति निकुञ्ज माध्यामिक विद्यालयका प्रधान अध्यापक श्री राधेश्याम प्रधान, नेपाल एकायन कराते संघ काठमाडौं जिल्लाका सल्लाहकार एवं समाजसेवी आनन्द बहादुर शाही, नेपाल एकायन कराते संघका केन्द्रीय सल्लाहकार शंकर महर्जन, दक्षिण एसियाली एकायन कराते महासंघका उपाध्यक्ष शशी कपाली, नेपाल एकायन कराते संघका केन्द्रिय सल्लाहकार विरकृष्ण श्रेष्ठ, नेपाल एकायन कराते संघ कंकेश्वरी शाखाका सल्लाहकार बालकृष्ण महर्जन, गणेशामन सिंह खेलकसद एकेडेमीका अध्यक्ष अनिरुद्र प्रधान, लोकतान्त्रिक खेलकुद संघ क्षेत्र नं ८ का अध्यक्ष सुवोध प्रसाद प्रधान, एल.आर. आई. स्कूलका शिक्षक दपिक पनेरु, कराते प्रशिक्षक प्रकाश खतिवडा समेतको उपस्थिति रहेको थियो । प्रतियोगितामा काठमाडौंका विभिन्न विद्यालयका १३७ जना एकायन कराते खेलाडीहरुको सहभागिता रहेको थियो ।

महिलातर्फ ५ तथा पुरुषतर्फ ७ गरी जम्मा १२ वटा तौल समूहहरुमा प्रतियोगिताका खेलहरु संचालन भएका थिए ।
उपरोक्त तालिका अनुसार महिलातर्फ ३५ के.जी मुनि तौल समूहमा अनुष्का राईले स्वर्ण, रजिसा पुन मगरले कास्य र साहाना तामाङ्गले रजत पदक प्राप्त गर्न सफल भए भने ४० के.जी. मुनि तौल समूहमा रेखा रोकायाले प्रथम, अञ्जु राईले द्वितीय र सवित्रा परियारले तृतिय स्थान हासिल गरिन्, त्यसैगरी ४५ के.जी. मुनि तौल समूहमा साहाना भुजेलले स्वर्ण पदक, सभ्यता नेपालीले कास्य पदक र सम्बृद्धि शाहीले रजत पदक प्राप्त गर्न सफल भईन् । त्यसैगरी ५० के.जी. मुनि तौल समूहमा सपना गोपालीले स्वर्ण पदक, युनिका लिम्बुले कास्य पदक र आयुषा परियारले रजत पदक प्राप्त गर्न सफल भईन् भने खुल्ला तौल समूहतर्फ कृपा खड्का र खुशी तामाङ्गले क्रमशः प्रथम र द्वितिय स्थान हासिल गरे भने अस्मिता तामाङ्गले तृतिय स्थान हात पार्न सफल भइन् ।
प्रतियोगिताको पुरुषतर्फ २५ के.जी. मुनि तौल समूहमा सुवास शाही प्रथम, समिक घिमिरे द्वितीय र कृषल के.सी. तृतिय भएका थिए । ३० के.जी. मुनि तौल समूहमा लविन कार्की प्रथम, सनिस थारु द्वितीय र हेमन्त जैसी तृतिय स्थान हासिल गर्न सफल भएका थिए, भने ३५ के.जी. मुनि तौल समूहमा नरेश रावत प्रथम, नेनिश वि.सी. द्वितीय र राजकुमार बम तृतिय भएका थिए । ४० के.जी. मुनि तौल समूहमा प्रविन श्रेष्ठले प्रथम, सुजन दनुवारले द्वितीय र सुजन थापा महरले तृतिय पुरस्कार प्राप्त गरेका थिए । त्यसैगरी ४५ के.जी. मुनि तौल समूहमा सिरीश थापा प्रथम, आयुष थारु द्वितीय र सायन भुजेल तृतिय भएका थिए भने ५० के.जी. मुनि तौल समूहमा सुजन तामाङ्गले स्वर्ण, विवेक तामाङ्गले कास्य र गणेश विष्टले रजत पदक हासिल गरे । प्रतियोगिताको खुल्ला तौल समूहमा सुवास नेपाली तथा प्रविण आले मगर क्रमशः प्रथम र द्वितिय तथा विराज मगर तृतिय भई क्रमशः स्वर्ण, कास्य र रजत पदक हासिल गर्न सफल भएका थिए ।

विजयी खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथि लगायत अन्य विशिष्ट अतिथिज्यूहरुले प्रमाणपत्र, मेडल तथा ट्रफीबाट पुरस्कृत गर्नु भएको थियो । साथै अन्य सहभागी सम्पूर्ण खेलाडीहरु लगायत खेल पदाधिकारीहरुलाई पनि सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो । उक्त प्रतियोगितामा निर्णयाधिशमा विष्णुमान शाक्य र भरत धौलाकोटी, मुख्य निर्णायकमा किशोर तामाङ्ग र रुपेश मगर तथा निर्णायकहरुमा राजेन्द्र तामाङ्ग, सुरेश धौलाकोटी, शंकर धौलाकोटी, राजेश श्रेष्ठ, प्रकाश खतिवडा, श्रीराम राना, मनोज राजबाहक, निर्जला श्रेष्ठ र आशिष घिमिरे रहेका थिए ।

 

नुवाकोटको नयाँ विकास यात्राः आत्मनिर्भर मोडलको खोजीमा

0

 

नुवाकोट आजकाल विकासको नयाँ सोच र दिशा खोजिरहेको छ। इतिहास, संस्कृति, कृषि र जलस्रोतको अपार सम्भावना बोकेको यो जिल्ला अब नयाँ मोडतिर उन्मुख हुँदैछ। यही विषयमा नुवाकोटका चर्चित वामपन्थी नेता तथा कृषि सामग्री कम्पनीका पुर्व अध्यक्ष तोयनाथ थपलिया, नुवाकोट विकास मोडलका अभियन्ता राजन गौतम (नकुल) अधिवक्ता रामेश्वर भण्डारी र युवा अभियन्ता चन्द्र पुरुष पौडेलबीच अर्थपूर्ण संवाद सम्पन्न भयो।

तोयनाथ थपलियाले नुवाकोटको विकास आत्मनिर्भरता र श्रमकेन्द्रित उत्पादन प्रणालीमा आधारित हुनुपर्ने बताउँदै कृषि, पर्यटन र जलविद्युतलाई विकासका मुख्य तीन आधारका रूपमा प्रस्तुत गरे। उनका अनुसार, “नुवाकोटले अरूको सहयोग होइन, आफ्नै स्रोत र सीपको प्रयोग गरेर विकासको बाटो खोल्न सक्छ।” गाउँमै उत्पादन, प्रसंस्करण र बजार विस्तार गर्न सके नुवाकोट आत्मनिर्भर मात्र होइन, समृद्ध बन्न सक्छ भन्ने उनको विश्वास छ।

अधिवक्ता रामेश्वर भण्डारीले विकासको नीतिगत पक्षमा जोड दिए। उनका अनुसार, योजना धेरै बने तर कार्यान्वयन कमजोर भयो। विकासका नाममा कागजी प्रतिबद्धता होइन, व्यवहारिक परिणाम चाहिन्छ। भण्डारीले नुवाकोटको विकास मोडललाई संस्थागत रूप दिन कानुनी र नीतिगत तयारी सुदृढ गर्नुपर्ने सुझाव दिए। “विकास नीति होइन, संस्कृति बन्नुपर्छ,” उनको भनाइ थियो।

त्यस्तै राजन गौतम (नकुल)ले युवाशक्ति र स्थानीय सीपलाई विकासको मूल ऊर्जा मान्दै ‘सशक्त गाउँ, समृद्ध नुवाकोट’ अभियानको अवधारणा अघि सारे। उनका अनुसार, युवाले गाउँमा फर्किएर कृषि र उद्यमशीलतामा हात हाल्न सके नुवाकोटको मुहार पाँच वर्षमै बदलिन सक्छ। “हामीले रोजगारीका लागि शहर खोज्यौं, अब शहरले रोजगारीका लागि नुवाकोट खोज्ने समय ल्याउनुपर्छ,” उनले भने।

चन्द्र पुरुष पौडेलले वातावरणीय सन्तुलन र हरित विकासको पक्ष उठाए। उनका अनुसार, “विकास सडक र भवनसम्म सीमित रहँदा नुवाकोटको प्राकृतिक सौन्दर्य र जीवनशैली संकटमा पर्छ।” त्यसैले उनले वातावरणमैत्री परियोजना, शिक्षा र मानव विकासमा जोड दिए।

यी चारै व्यक्तित्वका दृष्टिकोणले एउटै कुरा संकेत गर्छ—नुवाकोटको विकास अब अरूले होइन, नुवाकोटकै जनताले गर्ने हो। स्थानीय स्रोत, सीप, श्रम र एकताको बलमा आत्मनिर्भर नुवाकोटको मोडल अब सपना होइन, सम्भावना बन्दैछ।

नुवाकोटको पहाडी भेगबाट उठेको यो नयाँ सोचले केवल विकासको कुरा होइन, भविष्यको दिशा पनि संकेत गरेको छ—जहाँ गाउँ बोल्नेछ, किसान योजना बनाउनेछ र युवा नेतृत्व गर्नेछ। यही हो, नुवाकोटको नयाँ विकास यात्रा।

तत्कालको समाचार

गाउँपालिकामा बाल विवाह अन्त्यका लागि विद्यालयस्तरीय सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

गाउँपालिकामा बाल विवाह अन्त्यका लागि विद्यालयस्तरीय सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न तादी, नुवाकोट । तादी गाउँपालिका उपाध्यक्ष तथा बाल विवाह अन्त्य अभियानकी संयोजक पालिका उपाध्यक्ष...

नेपाल, अब उठ्ने, सक्रिय बन्ने र स्वस्थ जीवनशैली अपनाउने समय आएको...

नेपाल, अब उठ्ने, सक्रिय बन्ने र स्वस्थ जीवनशैली अपनाउने समय आएको छ! Call Mobility Pvt. Ltd. (HUAWEI) ले नेपालमा नयाँ HUAWEI WATCH FIT 5...

छहरे–टोखा सुरुङमार्ग फेरि पनि अध्ययनमै : अध्ययनले नै खायो २० वर्ष...

नुवाकोट,  /अधिवक्ता रामेश्वर भण्डारीले नुवाकोट–काठमाडौं जोड्ने बहुप्रतीक्षित छहरे–टोखा सुरुङमार्ग निर्माण योजना दुई दशक बितिसक्दा पनि अध्ययनकै चरणमा सीमित रहेको भन्दै गम्भीर चिन्ता व्यक्त गर्नुभएको...